अन्तर्राष्ट्रिय सीमा नाघेर नदी र समुदायको कथा भन्छन् रमेश भुसाल

रमेश भुसाल नवीन बराल

रमेश भुसाल

किंवदन्तीका अनुसार चीनको तिब्बती पठारबाट हजार किलोमिटर दक्षिण भारतको गङ्गासम्म बहने कर्णाली नदीको उद्गम थलो राक्षस तालमा पर्दछ । कर्णाली बहने नेपाली भूभागमा बस्ने मानिसहरू यसै कारण यो नदीले उनीहरूलाई दुःख मात्र ल्याउने बताउँछन् । उनीहरू बाढी, पिउने पानीको अभाव र चीनतिरबाट आउने प्रदूषणको कुरा गर्छन् । उनीहरू बिना रोकतोक बगिरहेको नेपालको अन्तिम प्रमुख नदीमा बन्न लागेको बाँधको प्रभाव कस्तो होला वा कसरी अगाडि बढ्ला भन्नेमा पनि चिन्तित छन् ।

तर यदि तपाईँ कर्णाली र यसले स्थानीय समुदायमा पारेको प्रभावका बारेमा जान्न चाहनुहुन्छ भने अन्तर्राष्ट्रिय सीमाहरू नाघ्न पनि तयार हुनुपर्छ, नेपाली पत्रकार रमेश भुसालको यस्तो धारणा छ । कर्णालीको कथा अन्तर्राष्ट्रिय कथा हो जसलाई नदी बहने तीन देशहरू ( चीन, नेपाल र भारत)का राजनीतिक, आर्थिक र सांस्कृतिक पक्षहरूले प्रभावित गर्दछन् ।

यसै सन्दर्भमा भुसाल र फोटोग्राफर नवीन बरालले सन् २०१८मा वैज्ञानिकहरूको एउटा टोलीसित तिब्बतमा रहेको कर्णालीको उद्गम थलोदेखि हिमाली भूभाग हुँदै गङ्गा नदीमा मिसिने दोभानसम्म ४५ दिने यात्रा गरेका थिए ।

यात्राका क्रममा भुसालले जलवायु परिवर्तनका सङ्केतहरू खोज्ने प्रयास गरेका थिए । उनले स्थानीय मानिसहरूसित उनीहरू नदीसित कसरी बस्ने गरेका छन् भन्ने बारेमा समेत कुरा गरेका थिए । यसो गरिरहँदा कहिलेकाहिँ पत्रकारिताको नैतिकताका बारेमा केही समय घोत्लिन बाध्य भएको उनी बताउँछन् । उनीसँगै गएको वैज्ञानिक टोलीले कर्णाली नदी राक्षस तालबाट उत्पत्ति नभएको भन्ने कुरा पहिलो पटक बाहिर ल्याएका थिए । खास गरेर नेपालमा यो नदी राक्षस तालबाट झर्छ भन्ने भनाइ रहँदै आएको छ ।

इन्टरन्युज अर्थ जर्नालिजम नेटवर्कका दक्षिण एसिया संयोजक तथा द थर्डपोल डट नेटका नेपाल सम्पादक समेत रहेका भुसालले यात्रा पश्चात् आफ्नो अनुभव समेटेर नेपाली टाइम्स र द थर्डपोल डट नेट मार्फत् पाँच वटा आलेखहरूको सँगाालो प्रकाशित गरेका थिए । उनका आलेखहरू कर्णालीको तटमा बस्ने मानिसहरूले भोग्ने गरेका चुनौतीका बारेमा केन्द्रित छन् ।

पत्रकार अभय राज जोशीसँग हालैको कुराकानीमा उनले आफ्नो यात्रा अनुभव, समाचारका लागि स्रोत जुटाउने प्रक्रिया, अन्तर्राष्ट्रिय सञ्चार माध्यममा आलेख प्रस्ताव गर्दाका चुनौतीहरू र विकट ठाउँहरूमा समाचार सङ्कलन गर्दा पत्रकारले भोग्नुपर्ने नैतिक सङ्कटका बारेमा चर्चा गरेका थिए । प्रस्तुत छ कुराकानीको सम्पादित अंश –

 

सर्वप्रथम त यो यात्रामा जाने सोच तपाईँमा कसरी आयो ?

मैले पहिले नेपालका दुई ठूला नदीहरू, कोसी र गण्डकीमा पनि यस्तै खालको यात्रा गरेको थिएँ । तर ती यात्राहरू आफ्नै देशभित्र सीमित थिए । म नदीका बारेमा अन्तर्देशीय कथा लेख्ने अवसरको खोजीमा थिएँ । त्यत्तिकैमा नेपाल नदी संरक्षण ट्रस्टका अध्यक्ष एवं नदी अभियन्ता मेघ आलेले यो यात्राका बारेमा मलाई बताउनुभयो । उहाँको समूहले चीनको तिब्बतदेखि गङ्गाको तटसम्म नदीको द्रुत अध्ययन गर्न लागेको थियो । उहाँको टोलीमा जल तथा भूगर्भ वैज्ञानिकहरू थिए । यात्राको दस्ताबेजीकरण गर्न र ४५ दिने यात्रामा फरक दृष्टिकोणहरू समावेश गर्नका लागि एक जना पत्रकार चाहिएको उहाँले मलाई बताउनुभएको थियो ।

उसो भए तपाईँको यात्रा नदी संरक्षण ट्रस्टले प्रायोजन गरेको थियो ? यात्राका क्रममा आफ्नो सम्पादकीय स्वतन्त्रता बचाउन तपाईँले के गर्नुभयो त ?

सुरुदेखि नै मैले उहाँहरूलाई के भनेँ भने म तपाईँहरूसित जान्छु र नदीका बारेमा लेख्छु, तर म तपाईँहरूले गरेको कामका बारेमा मात्रै लेख्दिनँ, अरू कुरा पनि लेख्छु । मैले उहाँहरूलाई म तपाईँहरूको स्रोतसाधन र विज्ञताको सदुपयोग गर्छु, तर के लेख्ने र कसरी लेख्ने भन्ने कुरा चाहिँ आफैँ निर्णय गर्छु भनेको थिएँ । उहाँहरू यसमा सहमत हुनुभयो । मेरो उद्देश्य नदीका विभिन्न पाटाहरूमा रिपोर्टिङ गर्ने भएकाले मलाई यो यात्रामा जाने कुराले निकै उत्साहित बनाएको थियो ।

यात्रामा जानुअघि कस्तो खालको कथा लेख्ने भन्नेबारे केही सोच बनाउनुभएको थियो ?

मैले नदीले विभिन्न भूगोल र भिन्न संस्कृति अँगालेका मानिसहरूलाई छुँदै कसरी आफ्नो बाटो लाग्छ भन्ने विषयमा आलेखहरूको सँगालो तयार पार्ने सोच बनाएको थिएँ । मैले केही मुद्दाहरूमा विशेष ध्यान दिने निर्णय गरेको थिएँ । उदाउँदै गरेको चीनका कारण नेपाल र तिब्बतका मानिसका बीचमा देखिएको असमानता, चीनमा देखिएको पारदर्शिताको कमी र नेपालतिर कर्णालीमा बन्ने भनिएको देशकै सबैभन्दा ठूलो जलविद्युत् परियोजना आदिका बारेमा मलाई लेख्न मन थियो । म पहिले पनि भारतमा गइसकेकाले भारतमा बाढीको प्रभावका बारे मलाई थाहा थियो । यसका बारेमा पनि मलाई लेख्नुथियो । अनि जलवायु परिवर्तनका बारेमा पनि त लेख्नु थियो ।

 

कर्णाली क्षेत्रमा सडकको यथेष्ट सुविधा छैन । त्यसैले यहाँको यात्रा निकै कठिन हुने गरेको छ ।

यात्रा चीनमा सुरु भएको थियो । त्यहाँ जानका लागि कति गाह्रो भयो ?

हामी चीन तिर्थालु भएर गएका थियौँ, पत्रकार भएर होइन । तर यो खासै ठूलो समस्या होइन । समस्या के थियो भने स्थानीय मानिसहरूले हामीले नबुझ्ने भाषा बोल्थे । तर हामीले उनीहरूकै भाषा बोलेको भए पनि उनीहरू हामीसित बोल्लान् भन्ने हामीलाई लागेको थिएन किनभने त्यहाँ अन्तर्वार्ता लिन त्यति सजिलो छैन । हामीले त्यहाँको भूबनोट हेर्यौँ, तर चिनियाँ पक्षबाट केही पनि भनाइ वा सूचना प्राप्त गर्न सकेनौँ । तर त्यो भूगोल हेर्नु निकै जरुरी थियो किनभने नदीको उद्गम त्यहाँ थियो । त्यसैले त्यो कहँबाट सुरु हुन्छ, कस्तो छ भन्ने कुरा थाहा नपाई अन्य भागमा जाँदा त्यो पुरै नदीको कथा हुँदैनथ्यो । त्यसैले सजिलो त पक्कै भएन, तर त्यो निकै उपलव्धिमूलक रह्यो ।

नेपाल प्रवेश गरिसकेपछि केही सहज भयो ?अन्तर्वार्ता गर्नका लागि मानिसहरू कसरी भेट्नुभयो ?

अरूले (नदी संरक्षण ट्रस्टले) डिजाइन गरेको समय तालिकामा हिँडेकाले हामीले उहाँहरूको समय तालिका मान्नुपर्ने थियो । उहाँहरूले हरेक दिनका लागि लक्ष्य निर्धारण गर्नु भएको थियो, दिनको अन्त्यसम्ममा फलानो ठाउँ पुग्ने । तर हामीले (फोटोग्राफर नवीन बराल र मैले) उहाँहरूको कार्य तालिका नबिथोलिने गरी आफ्नो काम अघि बढायौँ । हामीले के गर्यौँ भने बाटोमा जो भेटिन्छ, उसैसित कुरा गरिहाल्यौँ ।

एउटा घतलाग्दो कुरो हामीलाई के लाग्यो भने सडकमा धेरै थरीका मानिसलाई छोटो समयमा भेट्न सकिँदो रहेछ । सबै जना कुनै न कुनै कामका लागि सडकमा आउनुपर्ने नै हुन्छ । त्यसैले कुरा गरिएका पात्रहरूको विविधता पनि कायम भयो ।

तर महिलाहरू त घरबाट खासै बाहिर निस्किँदैनन् नि । उनीहरूका आवाज त कथामा नसमिटिने भए नि ?

हो, म तपाईँसित सहमत छु । यसो गर्दा विविध आवाजहरूलाई समावेश गर्न गाह्रो हुन्छ । तर हामीले सकेसम्म धेरै महिलाहरूसित कुरा गर्ने कोसिस गर्यौँ । यस्तो खालको कार्यशैलीको अर्को समस्या भनेको के हो भने कुराकानीका क्रममा हामीले थुप्रै ठाउँहरूका बारेमा थाहा पायौँ, समस्याहरू पनि थाहा पाइयो । तर ती ठाउँहरूमा हामी जान पाएनौँ किनभने ती टाढा थिए र त्यसै पनि ती अनकन्टार पहाडमा नजिककै गाउँ जान पनि निकै समय लाग्छ । जलवायु परिवर्तन र कुपोषणका बारेमा लेख्न सकिने एउटा गाउँ जान हामी पाएनौँ । अर्को गाउँमा पानीको विकराल समस्या भएको हामीले सुन्यौँ, तर त्यहाँ पनि जान पाएनौँ ।

तपाईँले ‘म पत्रकार हुँ’ भन्दा स्थानीय मानिसहरूले कस्तो व्यवहार गरे ?

हाम्रो क्यामेरा देखेपछि धेरैले हामी पत्रकार हौँ भन्ने कुरा बुझे । हामी टिभी पत्रकार भएको उनीहरूको बुझाइ थियो । त्यसैले हामीले खिचेको श्रव्यदृश्य कहिले कुन च्यानलमा आउँछ भनेर उनीहरूले सोध्थे । हामी तिब्बतदेखि भारतसम्म हिँड्दै छौँ भन्ने सुनेर उनीहरू अचम्मित हुन्थे ।

हामीले फोटो खिच्छौँ भन्दा केहीले पैसा मागे । त्यस क्षेत्रमा धेरै राष्ट्रिय र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू काम गर्ने भएकाले पनि होला मानिसहरूलाई हरेक चिजका लागि पैसा चाहिने भएको वा उनीहरूले आश गरेका । उनीहरूलाई सायद् लाग्यो होला भिडियो देखाएर हामीले कतै गएर पैसा माग्छौँ ।

तपाईँको यात्रामा यस्तो समय आयो जब तपाईँले आफूलाई पत्रकार हुने कि मानिस हुने भन्नेमा छान्नुपर्ने भयो ?

अँ, आयो नि । एक जना महिलाले हामीसित एउटा हिँड्ने लठ्ठी मागिन् । ‘तिमीहरूले यति धेरै फोटो खिच्यौ । मेरा बुढा श्रीमानलाई एउटा लठ्ठी पनि दिँदैनौ ?’ भनेर उनले भनिन् । उनले बारम्बार त्यही कुरा भनिरहेपछि मैले उनलाई आफ्नो ट्रेकिङ लठ्ठी नै दिएँ ।

दिनभरिको लामो यात्रापछि हामी टेन्ट गाडेर खाना खान बस्थ्यौँ । सानासाना बच्चाहरू र स्थानीय मानिसहरू हाम्रो वरपर बस्न आउँथे । हामीले खाएको हेर्थे । तर हामीले सीमित मात्रामा खाने कुरा बोका थियौँ; हाम्रै टोलीका सदस्यहरूलाई पुगनपुग थियो । त्यो एउटा गाह्रो अनुभव थियो ।

एक दिन हामीले डाँडा चढ्दै गरेको एउटा केटोलाइ भेट्यौँ । उसले धेरै ठाउँमा टालेको पाइन्ट लगाएको थियो । मैले उसलाई १५० रुपैयाँ दिएँ, ‘बाबु, चकलेट खाऊ’ भनेर । तर उसले ‘नाइँ, म यसले कापी किन्छु’ भनेर खुरुरु दौडियो । मैले उसलाई १५० रुपैयाँ मात्रै दिएकोमा मलाई पछि ग्लानि भयो । मैले उसलाई अलि बढी पैसा दिएको भए उसले अलि बढी कापी किन्न पाउँथ्यो कि भनेर सोचेँ । तर यस्ता कुराहरू धेरैजसो भइ नै रहे ।

जलवायु परिवर्तनका कारण कर्णाली क्षेत्रमा कस्तो असर परेको रहेछ ?

जलवायु परिवर्तनका कथाहरू लेख्न गाह्रो हुन्छ । तर यसो भन्दैमा त्यस्ता कथा नलेख्ने होइन । गुणस्तरीय अनुसन्धानको अभावमा चुनौती झनै थपिन्छ । हामीले मानिसहरूका अनुभव सुन्यौँ । कसैले पानी धेरै पर्ने गरेको बताए त कसैले सुख्खा लागेको बताए । विज्ञान धेरैजसो अनुभवको पछिपछि नै हुन्छ । त्यसैले यसका बारेमा हामीले लेखे मात्र अनुसन्धानकर्ताहरूलाई नयाँ अनुसन्धान गर्न प्रोत्साहन मिल्छ । तर स्थानीय मानिसहरूको अनुभवलाई वैज्ञानिक अनुसन्धानसँग भिडाएर हेर्दा सधैँ उनीहरूले भनेको कुरासँग मेल खाँदैन वा उनीहरूले भनिरहेकै ठाउँमा त्यही खालको अनुसन्धान भएको हुँदैन । यस्तो अवस्थामा रिपोर्टिङ गर्न गाह्रो पर्दोरहेछ।

 

यात्राका दौरान भुसाल र उनका साथीहरू पश्चिमी नेपालको सबैभन्दा विकट क्षेत्रमा पुगे ।

कर्णालीकै बारेमा केही नयाँ पत्ता लगाउनुभयो ?

यात्राको क्रममा हामीले कर्णाली नदीको उद्गम थलोका बारेमा चल्दै आएको किंवदन्ती असत्य रहेको पायौँ । भनिन्छ कर्णाली नदी राक्षस तालबाट सुरु हुने भएकाले यसले दुःख मात्रै ल्याउँछ । तर हामीले नदी अर्कै ठाउँबाट सुरु हुने गरेको भेट्यौँ ।

अन्तर्राष्ट्रिय समाचार संस्थाहरूमा आलेख छपाउन असहज हुने गरेको तपाईँले बताउनुभएको थियो । यस्तो किन होला ?

नेपालजस्तो अन्तर्राष्ट्रिय समुदायको धेरै ठूलो चासो नरहेको देशमा स्थानीय पत्रकारहरूलाई ठूला मिडियामा आफ्नो आलेख छपाउन गाह्रै हुने गरेको छ । यदि मैले लेखेकै कथा कुनै अन्तर्राष्ट्रिय संवाददाताले उस्तै फोटो र भिडियो सहित लेखेका भए त्यो विश्वका कुनै पनि सञ्चार माध्यममा छापिन्थ्यो होला । अन्तर्राष्ट्रिय मिडियालाई आफ्नो दृष्टिकोण भएको कथा चाहिन्छ वा आफैँले गरेको रिपोर्टिङलाई उनीहरूले बढी प्राथमिकता दिन्छन् ।

तर नेपाली टाइम्स र द थर्डपोलले मेरा आलेख राम्रोसँग छापे । भारतीय वेबसाइट फर्स्टपोस्टले पनि कथा छाप्यो । मैले नेपालको सबैभन्दा धेरै पढिने पत्रिका कान्तिपुरमा पनि एउटा लेख छपाएँ, जसप्रति निकै राम्रो प्रतिक्रिया पाएँ ।

तपाईँले आफ्नो शृङ्खलाको नाम ‘आस्था र यथार्थ’ राख्नुभयो । किन होला ?

मैले शृङ्खलाको नाम के राख्ने भनेर धेरै सोचेँ । त्यति बेला म गङ्गाबारे लेखिएको एउटा किताब पढ्दै थिएँ । त्यसमा ‘आस्था र यथार्थ’बारे चर्चा गरिएको थियो ।

गङ्गा धार्मिक आस्थाको एउटा केन्द्र हो, तर नदीको यथार्थ हेर्दा त्यस्तो देखिन्न । त्यसैबाट मैले मरो शृङ्खलाको नाम राखेको हुँ । कर्णालीको अवस्था पनि गङ्गाको जस्तै छ र यो गङ्गा नदीको एउटा महत्वपूर्ण शाखा नदी पनि हो ।

आलेख पढेर पाठकहरूको कस्तो प्रतिक्रिया आयो ?

प्रतिक्रिया निकै राम्रो आयो । धेरै प्रकाशकहरूले फोन गरेर किताब लेख्ने प्रस्ताव गरे । हामीले कर्णाली फोटो प्रदर्शनीको पनि आयोजना गर्यौँ । अनुभव राम्रो रह्यो । अहिले पनि त्यसबारेमा कतैकतै चर्चा भइरहेको सुन्छु ।

तपाईँजस्तै यात्रामा जान चाहने पत्रकारहरूलाई के सुझाव दिनुहुन्छ ?

मेरो सबैभन्दा ठूलो सुझाव हो – यात्रामा जानुअघि पर्याप्त तयारी गर्नुस् । आफूलाई के सूचना चाहिएको हो त्यसका बारेमा स्पष्ट हुनुहोस्, अहिले जे पाइन्छ त्यही सङ्कलन गर्छु, पछि घर गएर छानौँला नभन्नुहोस् । हामीले त्यसो गरेकाले धानको थुप्रोमा सियो खोजेजस्तो भएको थियो । त्यस्तै, आफ्नो आलेखको दृष्टिकोण समय र सन्दर्भका आधारमा परिवर्तन गर्न तयार रहनुहोस् ।

फेरि कर्णालीको यात्रामा जाने अवसर मिलेमा के चाहिँ फरक गर्नुहुन्थ्यो त ?

आलेख लेख्ने क्रममा मैले के पाएँ भने हामीले कुरा गरेका धेरैजसो मानिसले एउटै कुरा दोहोर्याएका रहेछन् । फेरि जान पाए अलि धेरै मानिसहरूसित अलि धेरै विषयमा कुरा गर्थेँ होला । अब जाँदा चाहिँ दक्षिणबाट उत्तरतिर लाग्थेँ होला ।

किन होला त्यस्तो गर्ने इच्छा भएको ?

त्यसो गर्नाले त्यहाँको भूगोल र मानिसहरूलाई फरक दृष्टिकोणबाट हेर्न सकिएला कि । हामीले उत्तरबाट सुरु गर्दा थोरै मानिसहरू मात्रै बस्ने स्थानबाट सुरु गर्यौ र करोडौँ मानिस बस्ने स्थानमा गएर यात्रा अन्त्य गर्यौँ । उल्टोबाट यात्रा गर्दाको अनुभव पनि फरक हुन्छ कि, करोडौँ बस्ने ठाउँबाट सुरु गरेर केही दर्जन मानिस बस्ने ठाँउमा पुग्दा ।

 

Abhaya Raj Joshiविकास श्रेष्ठ

अभय राज जोशी

पत्रकार अभय राज जोशी वातावरण, जलवायु परिवर्तन र वन्यजन्तुका बारेमा कलम चलाउँछन् । उनलाई ट्विटरमा @arj272 मा फलो गर्नुहोस् ।

Comments are closed.